Translate:

December 3, 2024

प्रकृतिको अनुपम उपहारः संखुवासभाको ‘शिवधारा’

1 min read
–             वीर बहादुर राई
प्रधानाध्यापक
हिमालय माध्यमिक विद्यालय खाँदवारी

म विज्ञान विषयको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङ्गको पाथीभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसूस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको प्रसिद्ध सभापोखरीको यात्रा पनि गरियो । त्यसैगरी अरुण र वरुण नदीको सङ्गमस्थलमा सम्पन्न वि.सं.२०६४ सालमा सम्पन्न “वरुण महोत्सव”मा पनि सहभागी भएको थिए ।

‘वरुण महोत्सव’मा जादा अबिस्मरणीय घटना भएको छ । महोत्सवमा आयोजित नाचगान, खेलकूद प्रतियोगिता, बुद्धिष्ट लामाहरुको चमत्कारिक मन्त्र शक्तिको प्रदर्शन जस्तै ः रातो हुने गरी तताएको फलामलाई जिब्रोले चाट्ने जस्ता आश्र्यजनक दृश्य अवलोकनमा सबै भक्तालुजन रम्न हेर्न थाले । तर मलाई चाहिं स्याक्सिला गाउँ छेउको डाँडामा गएर ठाडो हान्निएर आएको वरुण नदीको वेग अवलोकन गर्न मन लाग्यो । मलाई डाँडाको टुप्पोमा पु¥याउन मेरै पूर्व विद्यार्थीहरुले एक जना सानो स्थानीय किशोरलाई साथी (पथप्रदर्शक)को रुपमा व्यवस्था मिलाई दिए । म उही किशोरको मार्ग दर्शनअनुसार जाने भएँ ।

स्याक्सिला गाउँ भएर जादा बाटो घुमाउरो भएकोले छिटो डाँडामा पुगेर रमिता हेर्ने इच्छाले हामी अत्यन्त झोसघारी पार गर्दै ढुङ्गाको उकालो जाँदा मेरो मार्ग दर्शक किशोर सजिलै उक्लिन सफल भयो । जब मेरो उक्लिने पालो आयो, तब ढुङ्गामा टेकेर उक्लने कोशिश के गरेको थिएँ, ढुङ्गा नै घससस गर्दै चिप्लिएर तलतिर झर्न थाल्यो । अब किच्ने भयो भनेर म पछाडी सर्दासर्दै मेरो देब्रे खुट्टा ध्वान्द्रोमा छिरेर म घारीमा लडे र दाहिने खुट्टाले ढुङ्गालाई पएट मारेर ठेली पठाए । मेरो बलले हो वा संयोगले हो ढुङ्गा थामियो । पथप्रदर्शक भाई पनि डराएको मुद्रामा ‘मर्लास् है माष्टर’ भनिरहेको  थियो । उफ्, त्यो ढुङ्गाले थिचेको भए… सोझै स्वर्गमा नभए पनि अहिले अपाङ्गको सदस्यता लिएर बस्नु पर्ने थियो । त्यहाँबाट उठेर जसोतसो हामी डाँडामा पुग्यौ, आधा घण्टा जति म वरिपरिको वातावरण, वरुण नदीको प्रवाहलाई हेर्दै रमाएर बसें ।

‘वरुण महोत्सव’पछि संखुवासभाको चर्चित तथा विकट ‘शिवधारा’ तीर्थस्थल र मकालु हिमालको वेस क्याम्पको यात्रा गर्न मनमा सोचिरहेको थिए । एक्लै जान असम्भव र अव्यावहारिक भएकाले सहयात्रीको खोजीमा थुप्रै साथीभाईसँग ‘शिवधारा’ यात्रामा जानका लागि आग्रह पनि गरें । तर पनि त्यस्तो उचित समय र वातावरण मिलेको थिएन ।

केही वर्ष अघि मेरा शिक्षक साथी गणेश निरौलाले ‘शिवधारा’ दर्शन गर्न र दूधपोखरी सम्मको यात्रा गर्ने भनी कुरा निकाल्नु भयो । त्यसको दुइचार दिनपछि अर्का शिक्षक साथी केदार ढकालले त्यही प्रसङ्ग कोट्याउनु भयो । उहाँले गणेशजीसँगको कुरो सुन्नु भएको रहेछ । एकपछि अर्को यात्री साथी भेट्दै जान थालेपछि विद्यालय छुट्टीको अवसर पारेर साउन खाँदवारीबाट प्रस्थान गर्ने सामान्य समझदारी गरियो । त्यसपछि केदारजी निजी कामले विराटनगर जानु भयो जसले गर्दा हाम्रो थप कुराकानी हुन सकेन । ‘शिवधारा’को दर्शन गर्न जाने वा नजाने टुङ्गोटाङ्गीको कुरा नै रहेन ।

त्यसैताका मेरा साढुभाई मकालु सेदुवा लुङ्लुवा गाउँको शिक्षक ज्ञान विक्रम राई टुप्लुक्क मेरो घरमा टुप्लुक्क आईपुग्नु भयो । उहाँलाई मौका र सल्लाह मिलेमा ‘शिवधारा’ दर्शन र मकालु वेसक्याम जाने रहर छ भनी बताएँ । उहाँले ‘दाजु जाने हो भने म पनि जान्छु’ भन्नुभयो । दाजुभाई नै जाने हो भने म पनि जान्छु भन्दै मेरी श्रीमती मनकुमारी राई पनि कस्सिन थालिन् । यो सबै परिपञ्चपछि हामी आवश्यक खाद्य सामग्री, लुगाफाटोको कुम्लो कुटुरो बोकेर संखुवासभाको सदरमुकाम खाँदवारीबाट उत्तरतिर ‘शिवधारा’ जान प्रस्थान ग¥यौं ।

यात्रारम्भ ः तस्वीर स्वयम् लेखक

पहिलो दिन, खाँदवारीबाट हिँडेको दिन सेदुवा लुङ्लुवास्थित साढुभाईको घरमा वास बस्यौंँ । भोलिपल्ट यात्राको दोस्रो दिन, बिहान सखारै बाटो लाग्यौं । च्याक्से डाँडा (सुवेदी गाउँ) पुगेपछि नजिकैको प्राथमिक विद्यालय छेउको घरमा सारै मिठो बिहानको खाना खाइयो । बाटोमा भेट्टाइएको च्याउको तरकारी जो थियो । त्यसपछिको हाम्रो यात्रा टासी गाउँतिरको थियो ।

वर्षातको समय लेकको बाटो पानीको झमझम परिरहेको थियो । च्याक्से डाँडा र टासीगाउँ बीचमा अचाक्ली जुका लाग्यो । टासी गाउँमा दोस्रो दिनको एक बजे पुगिएको थियो । टासी गाउँमा सम्पूर्ण शेर्पा जातिको बसोवास छ । टासी गाउँपछि बाटोमा एकाध दोकान बाहेक मानव बस्ति पाइदैन । पातालको जङ्गल, उकालो बाटो केही माथि पुगेपछि निगाले घारी त्यसपछि चिमल घारी हुँदै हाम्रो दोस्रो दिनको बास खोङ्वा भन्ने ठाउमा प¥यो । खोङ्वामा वास बस्ने एक दुईवटा साधारण होटल रहेछन् ।

त्यसपछि तेस्रो दिनको हिंडाई बिहानदेखि नै पानी परेकाले हामीले वरिपरिको प्राकृतिक वातावरणलाई राम्रो हेर्ने मौका पाएनौं । बिहानको रिमझिमे झरिमा सानो पोखरी पुग्यौं । त्यसपछि निकै उकालो हिडेर अग्लो डाँडामा पुग्यौं । यो ठाउँबाट जोर खम्बे हिमाल, सुदूर पूर्वको सभापोखरी देखिने रहेछ । उकालो जाँदा पानी परेकोले त्यस्तो कुनै दृश्य देख्ने मौका परेन, तर फिर्दा खुलेकोले जोरखम्बे हिमाल, सभापोखरी अन्य थुप्रै वरीपरिको वातावरणको अवलोकन गर्न पाइयो । फोटो खिच्न पाइयो ।

ठूलो डाँडा काटेर केही ओरालो झरेपछि ठूलो पोखरीमा पुगिँदो रहेछ । यहाँ देखिएका पोखरीमध्ये सानो पोखरी राईहरुले पत्ता लगाएको र ठूलो पोखरी शेर्पाहरुले पत्ता लगाएको भन्ने भनाई रहेछ । सानो पोखरी रुमाल जस्तो देखिन्छ । ठूलो पोखरी हेर्दा हात्तीको आकार जस्तो देखिन्छ । ठूलो पोखरीसँग जोडिएको किम्वदन्ती के रहेछ भने भगवान शिवजी ईन्द्रको रुप धारण गरी हात्तिमा चढेर पार्वतीलाई भेट्न जाँदा शिवजी चढेको हात्ती ठूलो पोखरीमा आहाल खेलेको भन्ने रहेछ । हात्तीको बच्चा पनि साथै भएकाले सो बच्चा ठूलो हात्तीको खुट्टातिरको सानो पोखरीमा खेलेको भन्ने कथा यो क्षेत्रमा प्रचलित रहेको पाइन्छ ।

तेस्रो दिन, बिहानको दश बजेको समयमा जेनतेन ठूलो पोखरीमा पुगियो । ठूलो पोखरीको छेउमा स–साना दुई तीनवटा होटल रहेछन् । सहयात्री भाई ज्ञान विक्रमको आफन्त प्रकाश राई होटल गरी बस्नु हुँदो रहेछ । उहाँले खानाको बन्दोवस्त मिलाउनु भयो ।

प्रकाश बडो रमाईलो, जोशिलो र साहसी मान्छे हुनुहुँदो रहेछ । सन् २००५मा सम्पन्न सार्क राष्ट्रस्तरीय कराँते खेलको ५५ देखि ६० के जी तौल समूहको प्रतिस्पर्धामा काँस्य पदक जित्नु भएको रहेछ । मकालु र धौलागिरी हिमाल पनि आरोहण गर्नु भएको रहेछ । खानाको पर्खाइमा गफ चलिरहँदा टासी गाउँको दावा शेर्पा आई पुग्नुभयो । दावाजी सगरमाथा र मकालु हिमालको सफल आरोही हुनुहुँदो रहेछ । कुरैकुरामा प्रकाश दाईले ‘शिवधारा’ जाने मेरो पनि भाकल छ भन्नुभयो । अनुभवी साथी नभएको र बाटो पनि कठीन भएकाले हामीले प्रकाश दाईलाई सँगै जान थप कर ग¥यौं । दिउँसो साढे एक बजेको समयमा दावा शेर्पा दाई सहित हामी पाँच जनाको समूह ठूलो पोखरीबाट अगाडि बढ्यौं ।

ठूलो पोखरीबाट केही उकालो चढेपछि दोबाटे, मोम्बुक र जाँते ओडार हुँदै वरुण नदीको किनारमा रहेको ठूलो पैरो भन्ने ठाउँ कटेर जानु थियो । पानी निकै परिरहेकाले ठूलो पैरो काटेर जाँदा बाढी र पहिरोको डर हुन्छ भन्ने कुराले त्यस दिन अगाडि जाउँ वा त्यही बसौं के गर्ने भन्ने दोधारमा परियो । जे त पर्ला बस्नु भन्दा गन्तव्यमा जानु जाति भनेर अगाडि बढ्यौं । केही समय उकालो हिडेर डाँडा पार गरी वरुण नदीको पाटोको ओरालो झ¥यौं । अविरल वर्षा, दोबाटे र मोम्बुकको ओरालोमा भेटिएका छाँगा छहरा छिचोल्दै निकै ओरालो काट्यौं । वरुण नदीको किनारको छेउमा जाँतो जस्तो देखिने विशाल ढुङ्गाको ओडार रहेछ जस्लाई जाँते ओडार भनिँदो रहेछ । त्यसपछिको यात्रा केही डरमर्दो ठूलो पहिरोको यात्रा थियो ।

यात्रा सरक्षित र सुखद् होस् भनेर धूपबत्ती गरेर बल माग्यौं । यात्रा अगाडि बढ्यो । त्यस बेला चार बजेको थियो । तर हामीले कल्पना गरे जस्तो ठूलो र कठिन पहिरो रहेनछ । पहिरोमा खोला बगरमा पाइने जस्ता सानातिना ढुङ्गा हेर्दै पानीझरीले बढाएका खहरे खोला तर्दै हामी छिटोछिटो अगाडि बढ्यौं । त्यस दिन ठूलो पोखरीबाट ढिलै हिडेकाले बेलुकाको सात बजे मात्र याङ्ले खर्कमा बनाइएका गोठमा वास बस्यौं । बेलुकाको खाना सम्मर (मोही तताएर छोक्रा र पानी बनाई पानी फालेर राखेको छोक्रामात्र फ्राई गरी झोल लगाई बनाएको एक प्रकारको तिहुन) र चौंरीको दहीसँग मिठो गरी खाईयो । त्यो रात जसोतसो गोठमा काटियो ।

चौथो दिन, हामी चाँडै उठ्यौ । किनभने त्यस दिन हाम्रो ‘शिवधारा’मा नुहाउने दिन थियो । त्यसैले बिहानको साढे पाँच बजे तिरै झोला कसकास भयो । वरिपरिको दृश्य क्यामेरामा कैद गर्दै ‘शिवधारा’ नेहा खर्कतिर अगाडि बढ्यौं । याङ्लेको पश्चिम दिशामा भिर माथि विशाल चट्टान रहेको छ । जस्लाई शिवलिङ्ग भनिँदो रहेछ । केही समयको हिडाईपछि ‘शिवधारा’ र पार्वती गुफालाई निकै टाढाबाट वरुण नदीको किनारबाटै देख्न सकिँदो रहेछ । आकाश खुलेको बेलामा ‘शिवधारा’बाट पानीको धारा खसेको देखिँदो रहेछ । बिहान सात बजे नै हामी ‘शिवधारा’ मुनिको फाँट नेहा खर्क पुग्यौं । त्यहाँ भक्तालु जनका लागि भनेर एउटा पाटी निर्माण गरिएको रहेछ । त्यही ठाउँमा झोलिझ्याम्टा बिसायौं र लगभग दुइ घण्टाको उकालो चढेर ‘शिवधारा’ पुग्यौं । उकालो चढ्दा बाटोमा शिवजीको साहनवाहनले डर देखाउँछ भनी तलै नेहा खर्कमा बल माग्ने ठाउँ रहेछ । बल माग्ने ठाउँमा धूपबत्ती गरेर मात्र दर्शनको लागि उकालो चढ्यौं ।

बिहान आठ बजेको समयमा ‘शिवधारा’ चढ्दाको अफ्ठ्यारो ठाउँ जस्लाई धर्मढोका पनि भनिँदो रहेछ, त्यहाँ पुगियो । त्यस ठाउँमा दुईवटा बाटा रहेछन् । माथिल्लो ओडारको रुटलाई अघिअघि देवताका पालामा देवताहरुले नै बनाएको बाटो भन्दा रहेछन् सो बाटो भएर पनि जान सकिदो रहेछ । निकै तलबाट हेर्दा पनि सो बाटो कसैले बनाएको जस्तै देखिन्छ । तल्लो ओडार भएर गएमा मकालु वरुण राष्ट्रिय निकुञ्जले जिआइपाइप राखेर बनाई दिएको बाटो रहेछ । यो बाटो हिमपहिरोले भत्काएर अलि कठीन गरेर मात्र हिड्न सकिने रहेछ । दावा दाई याङ्लेमा नै रहनु भएकाले बाँकी हामी चार जना दर्शनार्थी यो बाटोका लागि नयाँ भएकोले निकुञ्जले बनाएको बाटो मात्रै पहिल्याउन सक्यौं । बाटो  हिमपहिरोले बिगारेकाले सामान्य मान्छेलाई हिड्न सहयोगीको साथ चाहिने रहेछ ।

शिवधारा क्षेत्र ः तस्वीर स्वयम् लेखक

यतिको कहिले कठिन र कहिले सहज यात्रा गर्दै अन्ततः हामी ‘शिवधारा’ पुग्यौं । वास्तवमा ‘शिवधारा’ मैले गरेको कल्पना भन्दा आकाश पातलको फरक रहेछ । साँच्चैको अध्यात्मिक व्यक्ति त्यहाँ पुग्ने हो भने तुरुन्तै जय भोले वावा भन्दै पलेटी कसेर ॐ………. उच्चारण गर्दै तपस्या गर्न बस्ने रहेछन् । कवि पुग्ने हो भने कविता लेख्न शुरु गर्ने रहेछन् । विज्ञान र भूगोलका विद्यार्थी पुग्ने हो भने त्यसको बनोट र उत्पतिको बारेमा सोच्न थाल्ने रहेछन् ।

वास्तवमा ‘शिवधारा’ दर्शन गर्न जाँदा शुरुमा पश्चिम तर्फबाट प्रवेश गरी पूजा गर्ने ठाउँमा पुगेर पूजा सकेपछि जय भोले वावा भन्दै शिवजीका अन्य के के नाम हो, पुकार्दै पहराबाट घुम्दै झरेको पानीको धारा छेउमा पुगेर उभिँदा धारा आफै घुमेर आई नुहाई दिन्छन् रे ।

थुप्रै तिर्थालुको मुखबाट मैले सुनेको थिएँ, धारा वरिपरि घुमिरहन्छ भनेर । तर हामी त्यहाँ रहुञ्जेल धारा घुमेको देख्न पाइएन । धारा घुमेर जमीन पखालिएको ठूलो एरिया चाहि देखियो । धारामा थापिन खोज्यो भने धारा सरिरहन्छ रे, आफूमाथि परोस् भनेर जबरजस्ती धाराको पछि पछि कुद्नु हुदैन भन्ने मान्यता रहेछ । धारा परेन भनी जबरजस्ती गरेमा धारा पूरै डोलिएर आई मान्छेलाई आत्तिने गरी नै पिट्छ रे, नेहा खर्कको गोठमा बस्नु हुने शेर्पेनी दिदीले यस्तो घटना आफूले प्रत्यक्ष देखेको भनी सुनाउनु भएको थियो । कुरा जे भए पनि वास्तवमा ‘शिवधारा’ जीवनमा कम्तिमा एक पटक भौतिकवादी दृष्टिकोणबाट वा अध्यात्मिक दृष्टिकोणबाट सक्दा नपुगी नहुने ठाउँ हो भन्ने मलाई लागेको छ ।

‘शिवधारा’बाट तीस मिनेटको अन्तरमा पार्वती गुफा रहेछ । बीचमा गणेशको स्थान रहेछ । गणेशस्थानमा गणेशको कानमा हात पसाएर भित्र दुई हात जोड्नु पर्ने किम्वदन्ती रहेछ । पार्वती गुफा अघि सत्य युगमा विष्णु भगवान हिमालय पर्वतसँग पार्वती माग्न जाँदा शिवजीसँग मात्रै विवाह गर्ने पार्वतीको प्रतिज्ञा भएकाले पार्वतीका साथीसङ्गीहरुले भगवान विष्णुबाट पार्वतीलाई लुकाएको गुफा छ । गुफा विशाल ओडारमा छ । गुफाभित्र चार पाँच जना अट्न सक्ने ठाउँ छ । भक्तालु जनले पूजा गर्ने ठाउँ पनि छ । बाहिरपट्टि नजिकै पार्वतीले शिवजी पति पाउँ भनी स्वस्थानीको व्रत बस्दाको अवस्थामा दिनदिनै नुहाउने धारा पनि छ । धारा नजिक पुगेपछि धारा आफै सरी आई पानीले भेट्टाउँछ । धारा झर्ने ठाउँमा रेखा छ सो रेखा काट्नु हँुदैन भन्ने मान्यता छ । सो रेखा काटी गएमा विशाल भिर भएकाले लडिन्छ भन्ने मान्यता छ ।

तीर्थालुले पूजा गरिसकेपछि पार्वतीको ओडार मुनि बसी आफूले लगेको आफू साथमा रहेको खानेकुरा खाएर मात्र फर्किनु पर्छ भन्ने मान्यता रहेको छ । त्यसो नभएमा पार्वती माता रिसाई फर्किदा असिना पानीले पिट्छ भन्ने भनाई रहेछ । हामीले पनि साथमा लगेका भटमास, मकै, सातु, चिउरा, विस्कुट, चकलेट प्रसादको रुपमा लिएर त्यहाँबाट प्रस्थान ग¥यौं ।

‘शिवधारा’ र पार्वती गुफाको दर्शन गरि सके पछि हिमालबाट झरेका विशाल छहराहरु, नजिकै रहेको हिमाललाई हेर्दै र नजिकैबाट बगेको वरुण नदीलाई अवलोकन गर्दै नेहा खर्क झरियो । तल आई पुग्दा गोठमा रहनु भएको शेर्पेनी दिदीले खाना बनाउनु भएको रहेछ । पानी परिरहेको र भोक लागेकोले गर्दा चौरीको दूधसँग खाना खाईयो आगो ताप्दै दिन बिताइयो ।

‘शिवधारा’, पार्वती गुफाकै वरपर नेहा खर्कबाट झण्डै एक घण्टा परी दुईवटा हिमाल “आमा भुजुङ्ग” छन् । शेर्पा भाषामा “आमा भुजुङ्ग” भनेको गर्भवती भन्ने रहेछ । “आमा भुजुङ्ग”लाई नेपालीे भाषामा हिमाल राजा हिमाल रानी भन्दा रहेछन् । स्वास्थानीको कथामा हिमालय पर्वत भन्ने ठाउँ रहेछ । आमाभुजुङ्ग भनेको हिमालय पर्वतराजकी पत्नी मेनुकाले पार्वतीलाई पेटमा बोकेको भन्ने रहेछ । छोराछोरी नहुनेले ‘शिवधारा’, पार्वती गुफाको दर्शन गरेर “आमा भुजुङ्ग”मा गएर आफूले चाहेको मागेमा पूरा हुन्छ रे । सो ठाउँमा ढक्की पैसा फालेर अड्याउने र पूजा गर्ने ठाउँ छ रे जहाँ हामी जान सकेनौं ।

पाँचौ दिन, पहिलो र दोस्रो दिनको यात्रा निकै बढी र कठीन पनि भएकाले श्रीमती मनकुमारी राईकोे खुट्टा दुखेकोले नेहा खर्कको गोठमा थकाई मार्नेे सल्लाह भयो ।

यो क्षेत्रको यात्रामा वरुण नदीको दायाँबाँया नजिकबाट नै देखिने नेपो हिमाल, छ्याङ्लिङ हिमाल, कान्छी हिमाल, खाङ्डोमा हिमाल र मकालु हिमाललाई नजिकबाट क्यामेरामा कैद गर्न सकिन्छ । कोही विज्ञान र भूगोलका विद्यार्थी भए हिमालको उत्पती कसरी भयो ? भन्ने अनुसन्धान गर्न सकिन्छ । विशाल हिमताल फुटेर बनेका भूभागहरु, पानीले काटेका गल्छेडाहरु र नजिकबाट सुन्न सकिने हिम पहिरोका आवाजहरु, त्यहाँ चरिरहेका भेंडाबाख्रा, चौरी, याकले दाँयाबाँयाबाट आफ्नै भाषा र इशारामा सोधिरहेको प्रतीत हुन्छ, यी मान्छेहरु को होलान् ? कहाँबाट आएका होलान् ? अनि कहाँ सम्म पुग्ने होलान् ? मेरो धनी नुन लिएर आएको हो कि भन्दै भेंडा कराउदै नजिक आउन खोज्छ । बाख्रा र चौरीगाईले नियालेर हेरिरहन्छन् । शायद चिमालको घारीबाट भालु र ब्वाँसोले च्याउनेछ, हिम शिखरबाट कस्तुरी, घोरल र हिम चितुवाले मान्छेलाई देखेर विचार गर्नेछन्, यी मान्छेको यात्रा कहाँ होला ? भनेर ।

हिमालको चुचुराबाट खसेको छहराको कुरा गरौं, वा महागुरुले तिब्वतबाट निकालेको पानीको छाँगाको बयान गरेर र तिनका कथा लेखेर सकिँदैन । वरुणको शिर दूधपोखरीको कुरा लेख्दा रङ्गीचङ्गी पाँचपोखरीबाट एउटै बनेको विशाल पोखरीलाई कहाँ अटाएर बयान गर्ने ! सेतो हिउँ देखेर कविता लेख्ने कविले तुरुन्तै नीलो हिउँ देखेर अर्को शिर्षकमा कविता लेख्नु पर्ने हुन्छ । सप्तरङ्गी तालहरु देख्न सकिनेछ । तर कुरा जसो जे रहे पनि म विज्ञानको विद्यार्थी हिमताल फुट्छ भन्दा वा तिलिचो ताल फुट्दैछ भन्दा अचम्म मानेर समाचार सुन्ने र पत्रिका पढ्ने गर्थे । अब म अचम्म मान्ने छैन र भन्न सक्छु कि हिमताल कसरी फुट्छ र टेथिस सागरको ठाउँमा हिमालय पर्वत र पहाडी भूभाग कसरी निर्माण भएको थियो ? भन्ने कुराहरु सजिलो ढङ्गबाट बताउन ।

वैदिक तथा पौराणिक शास्त्रको आधारमा ‘शिवधारा’को उत्पतिको कथा तथा विविध मान्यताहरु छन् । जसमध्ये ऋषि श्रापमा परेका साट्ठी हजार पितृहरुलाई पार गराउन भगीरथको तपस्याको फलस्वरुप गङ्गा आकाशबाट पृथ्वीमा आउन राजी भइन् । तर माथिबाट तल झर्दा गङ्गाको जोडबलले पृथ्वी समेत  छेडिएर पातल लोकमा पुग्न सक्ने भएकाले गङ्गाको सो शक्तिलाई शिवजीले मात्र थेग्न सक्ने भएकोले भगीरथले शिवजीलाई तपस्याबाट खुशी पारी गङ्गाको शक्तिलाई पृथ्वीमा नै रोक्न शिवजीलाई राजी पारे । तर गङ्गाले आफ्नो घमण्डले शिवलाई नै पातलमा पु¥याउछु भनि झर्दा सो कुरा शिवजीले थाहा पाई आफ्नो केशमा गङ्गालाई हजार वर्ष अलमल्याएछन् । त्यसरी अल्मल्याउने क्रममा शिवजीको जटाबाट चार धारा चुहुन गए छन् । जसलाई ‘शिवधारा’, आकाश गङ्गा, गोमुख गङ्गा र भगिरथ गङ्गा भनिएको रहेछ ।

त्यस्तै अर्को कथन स्वस्थानी माताको व्रतकथा अनुसार जब पार्वतीको परीक्षणका लागि शिवजी ईन्द्रको रुप धारण गरी ठूलो पोखरी हुँदै जाँदा ठूलो पोखरीमा हात्ती आहाल खेलेको र शिवजी हाल रहेको ‘शिवधारा’को ओडारमा बास बस्दा पानीको आवश्यकता परेकाले त्रिशुलले हानेर आफू बसेको पहरामा पानीको धारा निकाले भन्ने भनाई छ ।

शिव र पार्वतीको विवाह हुँदा देवताहरु, शिवका गणहरु नन्दीभृङ्गी प्रमथ गण भूत प्रेत पिशाच साथमा जन्ति भएर गएका थिए । “आमा भुजुङ्ग”को नजिक भूतदहमा भूत प्रेत पिशाच बसेको पौडी खेलेको भन्ने भनाई रहेको छ । अहिले त्यस दहको छेउछाउ नजानु, मरिन्छ, भनिन्छ । त्यस दहको छेउछाउ भेडाबाख्रा, चौरी गाईहरु पनि जाँदैनन् ।

“आमा भुजुङ्ग”को पारीपट्टि तिबुक झरना छ । जुन झरना पहाडको ठूलो प्वालबाट निस्किएको छ । जस्को उत्पतिका बारेमा दुईवटा भनाई छन् । शिवजीको विवाहमा गएका देवताहरुका वाहन तिर्खाएर पानी खान खोज्दा शिवजीले शङ्खले हानी निकालेको पानीको झरना भन्ने भनाई रहेको छ भने त्यस्तै सो झरनाको ठीक पल्लोपट्टि तिब्बत क्षेत्रमा अघि काली नाग भएको ताल थियो रे । नागले धेरै मानिस खाएकाले गर्दा त्यस ठाउँका मानिसले शिवजीको आराधाना गरी खुशी पारी शिवले त्रिशुलले हानेर पार हुन नसकेको र फेरी शङ्ख प्रहार गरेर काली नाग मारेकाले नागको रगत सो प्वालबाट निस्किएको भन्ने भनाई रहेको छ । तिबुक झरना साँच्चै हेर्न लायकको छ ।

यात्राको क्रममा अर्को पनि रमाईलो कथा सुनियो । वरुण नदीका सात बहिनी छोरीहरु मात्र भएछन् । वरुणले श्रीमतीसँग सल्लाह गरेर हिमालय पर्वतसँग छोराको वर माग्न गएछन् । वरुणले छोरा वरमपुत्र(व्रम्हापुत्र) पाएछन् । छोरा पाएर पनि वरुण फर्किएनछन्, माथितिरकै रमाईलो वातावरणमा रमाउन थालेछन् । धेरै वर्षसम्म वरुण नफर्केपछि आमाले बाबुलाई फर्काउन आफ्ना सात बहिनी छोरीलाई पठाईछन् । वरुणका सात बहिनी छोरीहरु पनि हिमालय पर्वतको आसपासको वातावरणले रमाएर बसेछन् । छोरीहरुसमेत धेरै वर्षसम्म नफर्किदा आमाले लाउरे सिकारीहरुलाई लिन पठाईछन् । लाउरेहरु गएर वरुणका सात बहिनी छोरीलाई लुगा, गरगहना दिउँला भनी फकाएछन् । सात दिदी बहिनीमध्ये छ बहिनी फर्किन मानेछन् । तर कसै गर्दा पनि कान्छी बहिनी “सन्सारी माई” फर्किन मानिनछन् । अन्तिममा लाहुरेहरुले तिमीलाई कान्छी पैसा (रुपैया, पैसा, धन) दिउँला भनी फकाएछन् । तब मात्र कान्छी बहिनी “सन्सारी माई” आउन मानिछन् । त्यसैले यहाँ पूजा गर्दा अन्य माईहरुलाई ध्वजापात चढाउछन् तर “सन्सारी माई”लाई एक पैसा र अहिले एक रुपैया चढाउने गरेका छन् ।

अन्तमा कठीन भूगोल, बासको अव्यवस्था, भवितव्य केही भए तत्काल उद्धारको सम्भावना, कष्टपूर्ण यात्रा भए पनि यात्राको गन्तव्य शिवधारा क्षेत्रमा पुगेको यात्री मनोरम प्रकृति देखेर मोहित नहुने कुरै हुँदैन । प्रकृतिको अलौकिक बनोटले मानव मष्तिष्कलाई नै उथलपुथल पारी दिन्छ । ‘शिवधारा’ आसपास, सेरसुङ्ग खर्क र मकालु वेसक्याम्प आसपासको क्षेत्र साँच्चै रमणीय छ, अलौकिक र स्वर्गीय  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »