संखुवासभाको बिजुली र उपभोक्ताको हविगत
1 min read
— जीवनाथ खनाल
स्वतन्त्र पत्रकार

संखुवासभाको बिजुली चौबीस घण्टामा कति पटक आउने जाने गर्छ ? संखुवासभाका स्थानीय बिजुली उपभोक्ता र कामका लागि वा घुमघाममा आउने जो भए पनि यहाँ एउटा कुरा निकै नराम्रो गरी खट्किन्छ, त्यो हो बारबार आउँदै जाँदै गर्ने बिजुलीको चरित्र ।
संखुवासभाको जीवनशैली केही समय यता निकै फेरिएको छ । विद्युतीय उपकरण अत्यधिक मात्रामा उपयोग हुन थालेका छन् । मोबाइल फोन व्यक्तिपिच्छे छन् । कसै–कसैसँग नेपाल टेलिकम र एनसेल कम्पनीका मोबाइल राख्नेहरुसँग दोहोरो मोबाइल छन् । घर घरमा राइस कुकर प्रयोगमा छन् । घर–घरको भान्सामा फ्रिज, मिक्सर लगायतका उपकरण चल्ने गरेका छन् । शहरी क्षेत्रमा गर्मीमा हावा खाने पङ्खा चल्छन् । कपडामा लगाइने आइरनको उपयोग पनि बढेको छ । कम्प्युटर, हिटर, वासिङ्ग मेसिनको उपयोग बढेको छ । रेडियो, टेलिभिजन त अब सबैका लागि सामान्य भइसकेको छ । अर्थात बिद्युत उपयोग वा खपत संखुवासभा ह्वात्तै बढेको छ ।
अस्पताल सेवा, अन्यान्य सरकारी कार्यालय, गैर सरकारी संस्था, व्यापारिक संस्थाहरुको व्यवसाय सञ्चालनमा समेत विद्युतीय उपकरण प्रयोग भइरहेका छन् । नियमित विद्युत आपूर्ति नहुँदा यी सबै निकायहरुले हात बाँध्न परिरहेछ । अर्थात बिजुली आधारभूत औजार भइसकेको छ । तर यही जनताको आधारभूत औजार बिजुली चौबीस घण्टामा केही नभए पनि तीसदेखि चालीस पटकसम्म आउने जाने गर्छ । नेपाल विद्युत प्राधिकरण प्रदत्त क्यान्सर वा उकुच पल्टेको घाउ .. ।
दुइ सय ५० किलोवाट क्षमताको हेँवा खोलाको विद्युत उत्पादन भएको आज ३५ वर्ष नाघिसकेको छ । स्व. हरि वैरागी दाहालले पिलुवा खोलाबाट विद्युत उत्पादन शुरु गरेको नै १५ वर्ष नाघिसकेको छ र यस पश्चात अरु दुईवटा आयोजना थपिएका छन् । तर किन अहिले पनि संखुवासभाका बासिन्दाले अन्धकार व्यहोर्नुपर्ने ? मेसिन उपकरणहरुको प्रयोग बढाउँदै आधुनिकीकरणतर्फ बढीरहेको स्थानीय जीवनशैलीलाई अन्यौलतर्फ धकेलीरहेको कहिलेसम्म मूकदर्शक भएर सहिरहने ? सम्भाव्य आर्थिक र भौतिक क्षति कहिलेसम्म खपिरहने ?
उपभोक्ताको आवश्यकता र सन्तुष्टिलाई भने नेपाल विद्युत प्राधिकरणले धज्जी उडाएको छ । बिजुली प्रयोग गरेर गरिने काम त प्रभावित भएको त छ नै । टुङ्गो बिनाको बिजुली आउने जाने गर्दा उपभोक्ताका विद्युतीय उपकरण बिग्रने जोखिम उत्तिकै छ ।
संखुवासभामा बिजुली
वि.सं.२०४२ सालतिर खाँदवारी साना जलविद्युत आयोजनाबाट २५० किलोवाट बिजुली उत्पादन शुरु गरेर जिल्लाको सदरमुकाम खाँदवारी, चैनपुर, तुम्लिङ्गटार लगायतका स्थानमा साँझ झिलीमिली हुन थालेको हो । देशका विद्युत अभियन्ता वा संखुवासभाबाट २०५६ सालको संसदीय निर्वाचनमा विजयी तत्कालीन साँसद स्वर्गीय हरि बैरागी दाहालले “अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी प्रा.लि.” स्थापना गरेर पिलुवा खोलाबाट ३ मेगावाट विद्युत उत्पादन गर्न थालेपछि संखुवासभाको विद्युत उत्पादन परिमाण बढ्न थालेको हो । स्वर्गीय हरि बैरागी दाहालले २०६० असोजदेखि उत्पादन पिलुवा खोलाबाट ३ मेगावाट बिजुली उत्पादन गरे यता अरु निजी कम्पनीले पनि बिजुली उत्पादन गरेर प्राधिकरणको ग्रिडमा जोडेका छन् ।
क्र.संं. आयोजना क्षमता प्रबद्र्धक उत्पादन शुरु मिति
मे.वा.
१ पिलुवा खोला ३ अरुण भ्याली हाइड्रोपावर डे. कं. २०६० असोज
२ हेँवा खोला ४.४५५ वरुण हाइड्रोपावर डे. कं.प्रा.लि. २०६७ साउन
३ सभा खोला ३.३ दिव्यश्वरी हाइड्रोपावर प्रा.लि. २०७४ असोज
जम्मा १०.७५५
स्रोत ः विद्युत विकास विभागको वेब साइट (२०७८ असार ९ मा अद्यावधिक भएको)
संखुवासभाको निजी क्षेत्रले जिल्लाको घरायसी उपभोगको अनुपातभन्दा तीन दोब्बर विद्युत उत्पादन गरेको छ ।
प्राधिकरणको स्थानीय कार्यालय के गरिरहेछ ?
संखुवासभाको बिजुली केन्द्रीय ग्रिडमा जोडिएको छ । विद्युत उत्पादक र वितरक प्राधिकरण प्रविधिलाई दोष थोपर्छन । सुनसरीको दुहवी सवस्टेसनबाट केन्द्रीय प्रसारणको विद्युत लाइन आएन भने संखुवासभाको स्थानीय उत्पादनबाट बिजुली बाल्न सम्भव छैन । यहाँका स्थानीय उत्पादनकर्ताले केन्द्रीय प्रसारण लाइनद्वारा उपकरण सञ्चालन भएपछि मात्र विद्युत उत्पादन गर्ने प्रविधिबाट आयोजना निर्माण गरेको प्राधिकरणको आरोप छ । उत्पादक र प्राधिकरणको यस आरोप प्रत्यारोपको प्रत्यक्ष मार भने आम उपभोक्तामा परिरहेको छ, तर उत्पादक र प्राधिकरण सबै तैं चूप मैं चूप छन् ।
उपभोक्ता र सरोकारवालाहरुको प्रयास
एउटा व्यक्तिको प्रयासले वा जिम्मेवारीप्रति इमान्दार व्यक्तिको कार्यबाट सेवा गुणस्तरीय हुन्छ भन्ने कुरा यस अघिका र अहिलेका विद्युत प्राधिकरणका कार्यालय प्रमुखको कामको तुलना आम उपभोक्ताले छुट्याइसकेको कुरा हो । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी प्रमुख भएर आएको केही समयमा नै कुलमान घिसिङ्गले विद्युतको लोडसेडिङ्ग क्रमशः हटाउँदै आफूलाई उज्यालो नेपालको पर्याय बनाउन सफलता प्राप्त गरे । तर सरकारलाई कुलमान घिसिङ्गको जिम्मेवारीप्रतिको समर्पण पच्न सकेन, त्यसैले हटाइए ।
त्यसैगरी प्राधिकरणको स्थानीय कार्यालय प्रमुखको जिम्मेवारीमा आएका यस अघिका कार्यालय प्रमुख ध्रुव अधिकारीले स्वयम् तिरतिरे सवस्टेसनमा बसेर आफ्ना सहयोगी प्राविधिक कर्मचारीहरुको सल्लाह र सहयोगमा संखुवासभाको विद्युत उत्पादनलाई अनवरत प्रसारण गर्न सकिने प्रविधि विकास गरेका थिए । तर उनलाई सरुवा गरेरै छाडियो । कम्तिमा छ महिना सरुवा नहोस् उनको चाहना र विभिन्न क्षेत्रबाट भएका सरुवा रोक्ने दवावलाई धुजा खेलाएर संखुवासभामा सरुवा भई आएका अधिकारीका उत्तरवर्ति कार्यालय प्रमुखले किन, कसका लागि त्यो संरचना रुचाएनन् ?
केही दिन पहिले यही सङ्कटलाई लिएर जिल्ला समन्वय समिति संखुवासभाका प्रमुखको सक्रियता र संयोजकत्वमा संखुवासभामा क्रियाशील राजनीतिक दल, प्रशासन प्रमुखहरु तथा विद्युत प्राधिकरण संखुवासभाका कार्यालय प्रमुखसहितको बैठक बसेको सुन्नमा आएको थियो । बैठकमा के के भयो, बैठक गर्नेहरुलाई नै थाहा होला । तर आम टिप्पणी के छ भने “प्राविधिक शव्दावली, यन्त्र र उपकरण, सरकारी व्यवस्था आदिलाई देखाएर विद्युत प्राधिकरणका प्रमुखले यथास्थितिलाई कायम नै राख्ने काममा सफलता हासिल गरे ।”
“कहिँ नभएको जात्रा हाँडिगाउँमा” भने जस्तै संखुवासभाको यो विद्युत प्रसारणको जात्रा सदाकाल कायम रहिरहने त होइन ? प्राविधिक र मेसिन उपकरण लगायतका जानकारी नभएका व्यक्तिहरु, उपभोक्ताहरु कहिलेसम्म प्राधिकरणको अकर्मण्यताको शिकार बनिरहने ? वि.संं. २०४२ सालतिरको दुई सय ५० किलोवाट क्षमताको संरचना प्रयोग गर्ने, ३५÷४० वर्षको अवधिमा पनि सुधारात्मक कार्य नगर्ने अनि प्रविधिलाई दोष दिएर प्राधिकरणका नीति निर्माताहरुले दुनो सोझो बनाइरहने ?