Translate:

April 20, 2026

खाँदबारी ः आकाँक्षा एकातिर, व्यवहार अर्कोतिर

1 min read

करिब चालीस वर्ष अघिको खाँदवारी पोखरी बजारमा लागेको हाट ः तस्वीर सौजन्य ः– अनुप युश शाक्य

जीवनाथ खनाल

स्वतन्त्र पत्रकार

सर्सर्ति हेर्दा खाँदवारी समृद्ध छ । आधुनिक सुविधायुक्त घरहरुले बजार ढाकिँदै छ । न त जाडो न त गर्मी भन्न सुहाउने जलवायु यहाँको प्राकृतिक सम्पदा हो । मकालु हिमाल आरोहण गर्न लालायित र यहाँको जैविक विविधता अध्ययन अनि पदयात्राका लागि आउन उत्सुक स्वदेशी र विदेशीहरुले झण्डै आधा शताव्दिदेखि नै खाँदवारीलाई आफ्नो रुचीको भूगोल बनाएका छन् ।

यहाँका ९० प्रतिशत भन्दा बढी व्यापारीहरुले काठमाडौं लगायत देशका अन्य भागमा समेत घर–सम्पति जोडेका छन् । शायद अन्यत्रको तुलनामा यहाँको कमाईले सन्तुष्टि दिने भएकाले होला, उनीहरुले र उनीहरुका सन्ततिले पनि खाँदवारी छोडेका छैनन् । त्यही भएर काठमाडौंमा बसोवास गर्दै आएका महेश श्रेष्ठले केही समय पहिले यहाँ काठमाडौंको शैलीमा कलात्मक घर बनाएका छन् ।

संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने यहाँका पुराना बासिन्दाहरु पैतृक चिनारी संरक्षणमा जुटेका छन् । स्वर्गीय सूर्यबहादुर श्रेष्ठका साइँला सुपुत्र नारायण श्रेष्ठले आफ्नै स्रोतमा निजी विद्यालय चलाएका छन् । विद्यालय–हातामा आफ्ना दिवँगत मातापिताको पूर्ण कदका सालिक स्थापना गरेका छन् । कान्छा सुपुत्र जीवन श्रेष्ठले भूमिगत पार्किङ्ग सहितको भव्य भवन निर्माण गरेका छन् ।

स्वर्गीय सूर्यबहादुरकै साइँला भाई स्वर्गीय तेजबहादुरका कान्छा सुपुत्र मनोज श्रेष्ठले पनि करोडौं रुपैँयाको लागतमा उत्तिकै भव्य भवन निर्माण गरिरहेका छन् । यहाँका पूर्व बासिन्दा मात्र नभएर यहाँ सरकारी जागिरको सिलसिलामा आउने, व्यापार–व्यवसायको सिलसिलामा आउने वा श्रमको खोजी तथा घुमफिरको बहानामा आउने जो कोही पनि खाँदवारी बजार र आसपासको क्षेत्रमा आफ्नो वासस्थल कायम गर्न लालायित हुँदै आएको नयाँ नयाँ घरहरुले नै साक्षी प्रमाणको काम गरेका छन् ।

खाँदवारीले बाहिरबाट आउनेलाई आकर्षण गर्ने अर्को कुरा पनि यहाँ छ । खाँदवारी बजारलाई केन्द्र बनाएर गरिने रुद्राक्ष, अलैंची, जरीबुटी आदिको व्यापार अर्को आकर्षण हो । क श्रेणीका १५ वटा वाणिज्य बैंक, ऋण तथा बचत सहकारीहरु, लघुवित्त वित्तीय संस्थाहरु लगायत थुप्रै आर्थिक क्रियाकलाप गर्ने निकाय सक्रिय हुनु पनि खाँदवारी आर्थिक रुपले आकर्षणको केन्द्र बन्न पुगेको स्वीकारिएको छ ।

तेस्रो तर महत्वपूर्ण कुरा के छ भने यहाँ देशलाई प्रशासनिक नेतृत्व प्रदान गर्नेहरुको थलो पनि मानिएको छ । खाँदवारीस्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरु अहिले राज्यको उपल्लो ओहोदामा प्रचुर मात्रामा देख्न सकिन्छ । दुईवटा स्नातकोत्तर तहसम्म अध्यापन गर्ने कलेज, गुणस्तरीय शिक्षा प्रदायक सामुदायिक र निजी विद्यालयको प्रचुरताले पनि संखुवासभा जिल्ला र जिल्ला बाहिरका विद्यार्थी र अभिभावकहरुलाई लोभ्याएको छ । विद्यालय व्यवस्थापनमा कुशल प्रमाणित भएका विद्वान व्यक्तित्व प्रधानाध्यापक कुवेर भेट्वालले नेतृत्व गरेको मनकामना रत्न–अम्बिका उच्च माध्यमिक विद्यालयमा विद्यार्थी संख्या १४ सयबाट उकालो लाग्नु स्वयम्मा प्रमाण हुन पुगेको छ ।

चार हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने दर्जनौं विद्युत आयोजना सम्बद्ध मानिसको समेत उल्लेख्य उपस्थिति रहेको खाँदवारीको आकर्षणको विषयमध्ये सबै भन्दा प्रमुख कुरा के छ भने एशियाका दुई ठूला देश चीन र भारतलाई जोड्ने देशको सबैभन्दा छोटो व्यापारिक सतह मार्ग पनि यही बजार भएर गएको छ । जसले गर्दा यस ठाउँको भविष्य र सम्भावना आँकलन गर्नेहरुले खाँदवारीलाई आफ्नो आर्थिक क्रियाकलापको आधार बनाउन लालायित हुनु स्वाभाविक हुन पुगेको छ ।

तर सम्भावना हुँदाहुदै पनि खाँदवारीको नेतृत्व गरिरहेकाहरुको हालसम्मको क्रियाकलाप र दृष्टिकोणलाई आधार मान्दा भविष्य सोचे जस्तो वा चाहे जस्तो हुन सक्ने निष्कर्ष निकाल्न सकिँदैन । किमाथाङ्का–विराटनगर सडकले चीन र भारतलाई जोड्दा गर्न सकिने र गर्नु पर्ने व्यापारिक क्रियाकलापका लागि अहिले पूर्वाधार बनाउनेतर्फ कसैको सोचाई जान सकेको छैन । जग जाहेर छ, नेपालको आर्थिक तथा व्यापारिक क्रियाकलापमा भारतीय व्यापारीहरुको हालीमुहाली छ । भोलिका दिनमा यहाँका स्थानीय व्यापारी जो अवसरको प्रतिक्षामा छन् तिनले अकुत पूँजी लिएर आउने भारतीय व्यापारीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन सक्छ, जुन प्रतिस्पर्धा स्थानीय व्यापारीको कल्पना र क्षमता बाहिरको विषय बन्न पुग्छ ।

व्यापारिक क्षेत्र छुट्याउने, व्यापारका लागि सुख्खा वन्दरगाहको स्तरमा भौतिक तथा नीतिगत पूर्वाधार निर्माण गर्ने जस्ता सामान्य काम न त व्यापारिक वर्गले नै सोचेको छ, न राजनीतिक नेतृत्वले नै । यहाँसम्म कि यस ठाउँलाई केन्द्र बनाएर हालसम्म व्यापारिक कारोबार गरिँदै आएको अलैंची, रुद्राक्ष लगायतका कृषि उपजहरुको गुणस्तर निर्धारण गर्ने, ट्रेडमार्क लिने, ब्राण्डिङ्ग गर्ने, अन्तर्राष्ट्रिय बजारमा बिक्री व्यवस्था गर्ने जस्ता व्यापारिक कार्य व्यापारी तथा व्यापारिक संस्थाहरुले नै गरेको पाइँदैन । भोट व्याङ्क सुरक्षित गर्नमा सम्पूर्ण शक्ति खर्च गर्ने राजनीतिक दलहरुबाट यो क्षेत्रमा ठोस् कार्य होला भनेर सोच्ने आधार हालसम्म पाउन सकिएको छैन ।

स्मरण गरौं, भोटखोला गाउँपालिकाका बासिन्दा हाल गाउँपालिकाका प्रमुख वाङ् छेदर भोटेले आफ्नो गाउँमा सिस्नोको धूलो उत्पादन गर्ने कारखाना स्थापना गरेको छन् । खाँदवारी र खाँदवारी बाहिरका बजारहरु धरान, विराटनगर, राजधानी काठमाडौं र विदेशमा बसोवास गर्दै आएका आफन्त मार्फत समेत सिस्नोको धूलो वितरण व्यवस्था मिलाएका छन् । यहीँका घरेलु उद्योगहरु जस्तो हर्क विश्वकर्माको खुकुरी उद्योग, मानेभञ्ज्याङ्गस्थित हिमाली पानी उद्योग राम्रैसँग चलेका छन् । केही वर्ष यता उखु कृषकहरुले उत्पादन गर्ने गरेको सख्खर मानिसहरुका लागि दैनिक उपभोग्य वस्तु मात्र नभई टाढा टाढाका आफन्तलाई पठाउने कोसेलीका रुपमा परिणत भएको छ । जसले गर्दा अहिले उखु खेतितर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

कृषि र वनमा आधारित कच्चा पदार्थबाट सञ्चालन हुने थुप्रै उद्योग स्थापना र सञ्चालन हुन सक्छन् । वाइन उत्पादन, जरीबुटीबाट औषधि उत्पादन, सुर्ति जस्ता नगदे बाली उत्पादनका कुरासँगै पशुपँक्षी पालन पनि अर्को भरपर्दो व्यवसाय बन्दै जान थालेको छ । खाँदवारीमा हुर्के बढेका खसी बोका यदाकदा बससेवाबाट काठमाडौं निर्यात हुन थालेको छ । तर यी सबै सम्भावनाभन्दा माथि चीन र भारत जोड्ने व्यापारिक सतह मार्गबाट हुने सम्भाव्य व्यापार र त्यसको परिमाणका आधारमा प्राप्त हुने लाभ तुलनात्मक रुपमा बढी प्रतिफलदायी क्षेत्र सावित हुन जाने निश्चित छ । तर आफ्नो स्वामित्वमा टिकाउन नसके अनि बेलैमा आवश्यक पूर्वाधार तर्जुमा गर्न उदासीन भए “कागलाई बेल पाक्यो हर्ष न विस्मात्” हुने निश्चित छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »