Translate:

December 2, 2024

मनसुन, बाढीपहिरो र हाम्रो सजगता

1 min read

सिलिचोङ बेसिन्दाका पहिरो पीडितहरुका लागि निर्माणाधीन खाँदवारी नगरपालिका वडा नं.७ भैरेडाँडास्थित पुनःस्र्थापना केन्द्रको तस्वीर — सौजन्य ः कमान सिँह कुलुङ्ग

– जीवनाथ खनाल
देशभर मनसुन शुरु भएको छ । अविरल वर्षाका कारण देशका विभिन्न पहाडी भू–भागमा गएको पहिरोमा परी जनधनको क्षति भएको समाचारले सञ्चारमाध्यमहरु भरिन थालेका छन् । सडक भत्केर आवागमन ठप्प हुन थालेको छ । खोला, नदीको जलसतह बढेर बाढीको जोखिम शुरु भएको छ । तराईमा डुवान शुरु भएको छ । संखुवासभा जिल्लामा केही समय यता शुरु भएको वर्षाका कारण अहिलेसम्म मकालु गाउँपालिकामा पहिरोमा परेर एक जनाको ज्यान गएको खबर आएको छ । दर्जनौं घर पहिरोको चपेटामा परेका छन् । मानिसहरु घरबारविहिन हुन पुगेका छन् । पशुपञ्छीको दृश्य अदृश्य क्षति भइरहेछ ।
मनसुनको शुरुवाती दिनमै बाढी, पहिरोको वितण्डा शुरु भएको छ । उत्तर–दक्षिण कोशी सडकको मानेभञ्ज्याङ्ग—छ्याङ्कुटी खण्डको सडक, एकुवा—गोलाबजारबीचका पक्की पुल बगाएकाले सडक सम्पर्क नै अवरुद्ध भएको छ । कच्ची सडकको हविगत वर्णन गरीसाध्य छैन ।
मनसुन भर्खर शुरु भएको छ । मनसुनले घनत्व प्राप्त गर्न बाँकी नै छ । मौसम विज्ञान–वेत्ताको भनाईमा देशमा मनसुन असोज अन्तिमसम्म रहनेछ । मनसुनको आरम्भमा नै अनपेक्षित क्षति भइसकेको छ भने अबका दिन, मनसुनको अवधिभरमा के कस्तो प्रभाव रहला ? कस्तो कस्तो विपत्ती वा परिणाम भोग्नु पर्ने हो ? अनुमान गर्न कठिन छ ।
बाढी पहिरोको विपत्ती कतिखेर कुन रुपमा आउँछ ? कुन भू–भागलाई चपेटमा पार्छ ? कस्तो किसिमको यातना दिएर जान्छ ? भन्न कठिन छ । बाढी पहिरोले प्रत्यक्ष र परोक्ष दुवै रुपमा मानवीय जीवन वा समग्र प्राणी जगतलाई नै बिथोलेर, आतङ्कित पारेर, जीवन–चक्रलाई नै नकारात्मक असर छोडेर जान्छ । धनवानहरुलाई समेत कम्तिमा पनि मगन्ते बनाएर जान्छ ।
मनसुन शुरु भएपछि मात्र होइन, बेलाबखत संखुवासभाको हिमाली क्षेत्रमा रहेका हिमताल फुटेर वरुण नदीमा बाढी आएको, बाढीले खोला किनारका बस्ती, खेतियोग्य जमीनलाई बगाएको हामी सबैको स्मृतिमा ताजै छ ।
गएको वर्ष हेवाँ खोलाको बाढी पहिरोले जलविद्युत परियोजनाका संरचना, उपकरण आदि बगाएर अर्बौं रुपैंयाको नोक्सानी गरेको, परियोजनामा काम गर्ने कामदारहरुको ज्यान हरण गरेको पोहोरको वर्ष मात्रै हो । त्यसैगरी २०७७ साल असारमा सिलिचोङ् गाउँपालिकाको बेसिन्दामा गएको पहिरोले ११ जना मानिस बेपत्ता पार्नुको साथै पूरै गाउँलाई विस्थापित गरेको थियो । सिलिचोङ् गाउँपालिकाकै सिकदिममा गएको २०६६ सालको बाढी पहिरोले १३ जनालाई बेपत्ता पार्नुको साथै विस्थापित भएका दर्जनौं परिवार अहिले पनि अस्थायी व्यवस्था गरेर भविष्य कुरीरहेका छन् ।
वर्षेनी जस्तो देखा पर्ने आम जनताले व्यहोर्न पर्ने मनसुन–सिर्जित विपत्तीप्रतिको सचेतता र प्रतिकार्यको सजगता, तत्परता विपत्ती पीडितहरुको अवस्था र आवश्यकता अनुरुप भएको छ भनेर ठोकुवा गर्न सकिन्न । बेसिन्दा पहिरो पीडितमध्ये २५ परिवार सिलिचोङ्कै चित्रे गाउँ र १२ परिवार बखल्तुङ् गाउँमा अस्थायी टहरामा जीवन गुजार्दै आएका छन् भने ५५ परिवारलाई खाँदवारी नगरपालिकाभित्र पुनस्र्थापन गर्ने भनेर व्यवस्थापनको काम शुरु गरिएकोमा जमीन व्यवस्था भएको छ तर घर निर्माण लगायतका कार्यको गति सुस्त छ ।
बेसिन्दा पहिरो पीडितलाई पुनःस्र्थापना गर्ने सन्दर्भको चर्चा गर्दा अहिले जुन किसिमको व्यवस्थापन कार्य भइरहेको छ, त्यो “खाए खा, नखाए घिच”को अवस्थामा छ । स्थानीय पालिकाहरुले जतिसुकै तत्परताका साथ पुनःस्र्थापनाको कार्य अगाडि बढाए पनि उपल्लो तहका सरकारको कार्यशैली र मापदण्डका कारण पुनःस्र्थापनाको काम प्रभावकारी हुन सकेको छैन । पहिरोले सारा घरजग्गा बगाएर सुकुम्वासी भएको परिवारलाई पुनःस्र्थापनाको काम कसरी हुन पर्ने हो ? पहिरो पीडितले तीन तीन वर्षसम्म अस्थायी वासमा नै बसिरहनु पर्ने बाध्यता किन ? र कसले गर्दा ? यो अवस्थाबाट उमेर ढल्कीसकेकाहरुलाई त फरक नपर्ला तर भर्खर स्कुले जीवन शुरु गरेका र गर्न लागेकाहरुको भविष्य कसरी अघि बढ्ला ?
पीडित परिवारलाई पुनःस्र्थापना गर्दा उनीहरुको धर्म, संस्कृति, परिवारको आकार, आवश्यकता लगायतका विषयलाई ध्यानमा राखेर घरजग्गा व्यवस्थापन गर्दा प्रभावकारी हुन जान्छ । तर बेसिन्दा पहिरोपीडितहरुका लागि खाँदवारी नगरपालिका भित्र रहेको भैरे डाँडामा निर्माण गर्न थालिएको पुनःस्र्थापना केन्द्रमा यस्ता कुरामा पूरै बेवास्ता गरिएको छ । वर्षौदेखि अस्थायी आवासमा बस्दै आएका जीविकोपार्जन गर्ने सम्पूर्ण आधार नै पहिरोको प्रकोपमा परेका बेसिन्दाका पीडितहरुका लागि स्थायी आवासको डिजाइन गर्ने इञ्जिनियर र स्रोत व्यवस्थापन गर्ने निकाय वा पदाधिकारीहरुले दुईवटा कोठाको घरले परिवारको आवश्यकता पूरा हुन्छ भनेर कसरी सोचे ? के जिम्मेवार पदाधिकारीहरुको परिवार पनि यस्तै घरमा बस्तै आएको छ ? स्वाभाविक प्रश्न उठ्छ । अझ, पहिरो पीडित स्वयम्ले आफ्नो आवश्यकता बताएर स्रोतमा समेत सहभागिता गर्ने भनेर अनुरोध गर्दा समेत पदाधिकारीहरुले आफ्नै निर्णयबाट निर्माण भएका दुईवटा कोठाको घरमा नै जीवन गुजार्न बाध्य पार्नु हदैसम्मको हास्यास्पद कार्य भएको छ ।
प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गर्नु, अवस्था हेरी पुनःस्र्थापनाको कार्य गर्नु उच्चतम् मानवीय कार्य हो । यसका लागि तीन तहकै सरकारबाट स्रोत, साधन र व्यवस्थापकीय जनशक्तिको समेत व्यवस्था गरेको छ । प्राकृतिक विपत्तीबाट जोगिन र विपत्तीमा परेकाहरुलाई उद्धार र पुनःस्र्थापन गर्न सबै स्थानीय सरकारहरुको सजगता नभएको होइन । संघीय र प्रादेशिक सरकार मातहतका निकायसमेत विपत्ती विरुद्धको कार्यप्रति जिम्मेवार देखिन्छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरमा “जिल्ला विपद् व्यवस्थापन समिति” सक्रिय छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका निकायसमेत विपद् जोखिम विरुद्धको कार्यका लागि पूरापूर तत्पर छ । रेडक्रस सोसाइटी जस्ता मानव कल्याणका लागि समर्पित सामाजिक संस्थाहरु समेत क्रियाशील छन् । “जिल्ला विपद् पूर्वतयारी र प्रतिकार्य योजना” पनि छ । तर नतिजा …. ?
संखुवासभा जिल्लाको हकमा प्राकृतिक विपद् खासगरी बाढी पहिरोको जोखिममा सबै पालिका पर्छन । सबैभन्दा बढी जिल्लाको उत्तरी विकट भूगोलमा अवस्थित पालिका भोटखोला, मकालु, चिचिला, सिलिचोङ, सभापोखरी लगायतका पालिका रहेका छन् । मनसुनको आरम्भमा नै करोडौं मूल्यको पक्की पुल, सयौं रोपनी उर्वर भूमि, वनजङ्गल, पशुपञ्छी र स्वयम् मानिसको ज्यान हताहत भएको छ, विनाश भएको छ । तुलनात्मक रुपमा खाँदवारी नगरपालिका बाढी पहिरोको कम जोखिम व्यहोर्ने पालिकामा पर्न आउँछ । मनसुनको आरम्भमा नै उत्तर–दक्षिण सडक, पालिकाको वडा नंं.५ मा रहेको कल्छे बेसीमा आएको बाढी र पहिरोको चपेटमा परेको खाँदवारी नगरपालिकाले अन्यान्य पालिकामा आएको बाढी पहिरोको विपद्बाट प्रभावित जनतालाई समेत मानवीय दृष्टिबाट पनि पुनःस्र्थापन गर्नुपर्ने दायित्व लिनुपर्छ । जसका लागि खाँदवारी नगरकार्यपालिकाले बेलैमा उचित कार्ययोजना तर्जुमा गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »