Translate:

December 2, 2024

आक्रोशित स्थानीय र थपिँदो बाढीको वितण्डा

1 min read

– जीवनाथ खनाल
संखुवासभाका वासिन्दाले अहिले मूलभूत रुपमा तीनवटा समस्यासँग जुध्न परेको छ । पहिलो, जिल्लाको शहरी क्षेत्रमा खानेपानीको चर्को अभाव, दोस्रो, वर्षातको बाढीले मच्चाएको वितण्डा र तेस्रो, ठेकेदारले तोकिए बमोजिम काम नगर्नाले प्रभावित बनेको सडक निर्माणको कार्य ।
प्रसङ्ग–१; दलीय भागबण्डाका आधारमा २०६७/०६८ सालतिर गठन भएको “खाँदवारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था”को कार्य समितिले इमान्दारीपूर्वक काम नगरीदिएकाले जनताको पचासौं करोड रुपैंया आजका मितिमा शून्यमा विलिन भएको छ । मकालु गाउँपालिकाको माँसिमा गाउँका खोलाहरुबाट पानी ल्याएर खाँदवारी नगरपालिका क्षेत्रका बासिन्दाको आवश्यकता पूर्ति गर्ने कार्यादेश पाएको “उपभोक्ता समिति”को “दुर्नियत र कार्यशैली”का कारण अहिले “माँसिमा खानेपानी परियोजना” घाटमा पुगेको लाश भएको छ ।
समितिको दुर्नियत र कार्यशैली बुझेका अन्यान्य गाउँका वासिन्दाले “माँसिमा खानेपानी परियोजना”को नियति आँकलन गरेर आ–आफ्नै “खानेपानी समिति” गठन तथा खानेपानी व्यवस्थापन गरेका छन् । आजसम्ममा खाँदवारी नगरपालिकाको अभिलेखमा तेह्रवटा खानेपानी समिति दर्ता भइसकेका छन् । उपभोक्ताहरुको यस कार्यले “खाँदवारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था”को कार्य समितिप्रति आरम्भदेखि नै भरोसा नरहेको पुष्टि गरेको छ । राजनीतिक दलहरुको आडमा दशकौंसम्म साधारणसभा, समितिको निर्वाचन, आयव्यय सार्वजनिक तथा नियमित समेत नगरी २०६७ सालकै कार्यसमितिले आजपर्यन्त सञ्चालन गरिरहेको “माँसिमा खानेपानी परियोजना”को कार्यसमिति पुनर्गठनका लागि “खाँदवारी नगरपालिका”ले अहिले हस्तक्षेप गरेको छ ।
“खाँदवारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था”का अध्यक्ष नगर कार्यपालिकाको सदस्यमा निर्वाचित भएपछि संस्थाको पुनर्गठनका लागि एक प्रकारले बाध्यात्मक अवस्था आइपरेको थियो । जसले गर्दा नगरपालिकाले विधि विधान ख्याल नै नगरी औचित्य र आवश्यकताका आधारमा हस्तक्षेप शुरु गरेको बुझ्न सकिन्छ । नगरपालिकाले गरेको संस्थाको कार्यसमिति विघटन र तदर्थ समितिको गठन सम्बन्धमा पक्ष विपक्षमा आउने विमर्शहरुले चोक र चियापसलहरुमा राम्रै स्थान पाएका छन् । तथापी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) संखुवासभा सम्बद्ध नेता लेखनाथ बुढाथोकीले पाँच दिन आफ्नो फेसबुक वालमा “खाँदवारी खानेपानी आयोजना खै नाम चै के पुरानो समितिको बदनाम गर्दै मेयर महेश थपलियाले नयाँ तदर्थ समिति गठन गरेछन् । पदासीन दिव्य बराल र रोहिणी निरौलाले फोन उठाएनन् । शुभकामना दिने मन थियो, कलव्याक पनि छैन तर सल्येन नेपालीले भन्नुभयो, सकारात्मक सहयोग दिनुहोस् । अनन्त गौलीसहित छोटो भेटमा हामीले भन्यौं “पानी आएपछि अरु केही चाहिँदैन !” भन्ने लेखेर एकप्रकारले सामान्य असन्तुष्टि र अर्को प्रकारले नगरपालिकाको निर्णयलाई राजनीतिक दलको पूर्ण अनुमोदन रहेको भन्ने अर्थ निकाल्न जो कोहीले सक्छ । नेता बुढाथोकीले लेखे झै नयाँ कार्यसमितिले दिने नतिजामा नागरिकहरुले÷आम उपभोक्ताहरुले आगामी दिनमा राजनीतिक दलहरुप्रति गर्नुपर्ने व्यवहार निर्धारण गर्ने निश्चित छ ।
प्रसङ्ग–२; त्यसैगरी गएको हप्ता संखुवासभाका लागि पीडादायी र पूर्ण अभिशप्त रह्यो । खडेरी पछिको वर्षाले चैनपुर र पाँचखपन नगरपालिकाको बीच भएर बग्ने “हेवाँ खोला”ले जन र धन दुवै हरण ग¥यो । असार २ गते शनिवार राति हेवाँ खोलाको शीरमा आएको पहिरो र पहिरोपछि उत्पन्न भएको बाढीले दुईवटा विद्युत परियोजनाको भौतिक संरचना पूर्ण रुपमा बगाएको छ । ती विद्युत परियोजनामा कार्यरत २१ जना मजदूरको प्राण हरण गरेको छ । हेँवा खोलामा आएको बाढीले हेँवाखोला किनारका खेतिपाति, घरगोठ बगाएको छ । मानिसहरुलाई घरवासविहिन बनाएको छ । सभा खोलामा मिसिएपछिको सभा र हेँवा खोलाको संयुक्त बाढी–शक्तिले अरुण दोभानसम्मका किनाराका खेतिपाति, घरगोठ, विद्युत–प्रसारणका खम्बा र खानेपानीका संरचनासमेतलाई क्षति पु¥याएको छ ।
सोही दिन चैनपुर र मादी नगरपालिकाको बीच भएर बग्ने पिलुवा खोलामा आएको बाढीले मेन्छ्याम जलविद्युत परियोजनालाई पूर्ण रुपमा क्षति पु¥याएको छ । परियोजनाको बाँध र विद्युत गृह सबैमा क्षति पु¥याएको छ । पूर्ण रुपमा भौतिक क्षति भएको यस परियोजनामा कार्यरत कर्मचारी÷मजदूरहरुले भने आफूलाई सुरक्षित राख्न सफल भएका छन् ।
शनिवार राति ९ बजे शुरु भएको पहिरो र बाढीको प्रकोप यतिमा नै सिद्धिदैन । जिल्लाको उत्तरी गाउँपालिका मकालु गाउँपालिका समेत बाढीको चपेटबाट बच्न सकेन । अहिलेसम्म प्राप्त सूचना अनुसार मकालु गाउँपालिकाको सेदुवामा आएको पहिरोमा परेर केही घरगोठ विस्थापन भएका छन् । पशुधनको क्षति भएको छ । अन्यान्य गाउँवस्ती समेत बाढी र पहिरोको चपेटामा परेका छन् ।
प्रसङ्ग–३; सुख्खा यामभरी सामान्य रुपमा गुडिरहेका सवारी साधन अब नचल्ने भएका छन् । देशका २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये कोशी राजमार्गको खाँदवारी–मानेभञ्ज्याङ्ग खण्डमा पटक पटक स्थानीय जनताले स्तरीकरणका लागि दवाव सिर्जना गर्दै आएका छन् । २०७७÷०७८ सालमा नै २ अर्ब ६० करोड रुपैंया लागतमा खाँदवारी–दोभान खण्डको ४७ किलोमिटर सडक स्तरोन्नतिका लागि बहुवर्षे ठेक्का लागेकोमा हालसम्म प्रगति हुन सकेको छैन ।
स्थानीय जनता बाहेक सम्बद्ध अधिकारवाला र सरोकारवालाहरुलाई कुनै तातो लागेको छैन । ठेकेदारलाई म्याद थपिएको छ । थपिएको म्याद गुज्रिने अवस्था भइसकेको छ । जनता दवाव दिइरहेका छन् । तर न त ठेकेदारले नै जिम्मेवारी बोध गरेको छ, न त ठेक्का स्वीकृत गर्ने सडक कार्यालय र जिल्लाका प्रशासक वा राजनीतिक दलका नेता अनि जनप्रतिनिधिहरुले नै आफूलाई जवाफदेही ठानेका छन् । सबै पक्षको उपेक्षाको शिकार यो सडकको स्तरोन्नतिको कार्य समयमा नभईदिनाले र भएको पुरानो अवस्थालाई बिगारीदिनाले अहिले सवारी साधन त के पैदल यात्रीका लागि समेत यो ठाउँको आवतजावत दुरुह बनेको छ ।
केही दिन पहिले मकालु गाउपालिकाको नुम निवासी एल.वि.पाख्रीनले आफ्नो फेसबुक वालमा देउराली मुढे खण्डको सडकमा परेका भैंसी डुव्ने गहिरा खाडलको तस्वीर पोष्ट गरे । त्यसैगरी चिचिला गाउपालिकाका प्रमुखले कप्ताने भन्ने ठाउँमा पर्लक्क पल्टेको यात्रु वाहक जीपको तस्वीर पोष्ट गरे । त्यस्तै अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला सम्वाददाता अनिष विष्टले कोशी राजमार्गको सुकेपाताल खण्डमा पहिरो र ठूला ठूला रुख झरेर बाटो अवरोध गरेको तस्वीर पोष्ट गरे ।
यी सबै तस्वीर र अवस्थाले समयमा बाटो स्तरोन्नति, भल नियन्त्रण, पहिरो रोकथाम लगायतका सम्भाव्य विपतहरुमा सरोकारवालाहरुले चासो नदिएको, जिम्मेवारी नलिएको सन्देश प्रवाह गरिरहेका छन् ।
अन्त्यमा, जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी जिम्मेवार निकाय छन् । जिल्लामा सरकारी प्रशासन तैनाथ छ । जनप्रतिनिधि छन् । राजनीतिक दल पनि छन् । अधिकारकर्मी पनि छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सुशासनका लागि बलिदान गरेको र जनता सुशासित भएको डिङ्ग हाँक्नेहरुको पनि कमी छैन । तर यथार्थमा के छैन भने यहाँ जनताको आवश्यकता प्राथमिकीकरण र आवाजको कदर एवम् सुनुवाई छैन । जोखिमयुक्त काममा लगाईएका मजदूरहरुको बिमा छैन । बेलामा तलब छैन । जनताको कर सँग्रहित सरकारी बजेट जनताको हितमा कार्यान्वयन भएको छैन । लोकप्रियता र चुनावलक्षित क्रियाकलाप प्रशस्त छ । हामीले जनताका लागि ज्यूज्यान बलिदान गरेका छौं । जनताले सुशासन÷विकास र उन्नति पाएका छन् भन्ने “भजमने”हरु प्रशस्त छन् ।
जनतालाई दास ठान्ने राजनीतिकर्मी र तिनको तावेदारीलाई आफ्नो परम् कर्तव्य ठान्ने प्रशासकहरुको मानसिकतामा आज पर्यन्त परिवर्तन आएको छैन । जनता राणा शासनकालमा जहाँ थिए, पञ्चायतकाल र बहुदलकालमा जुन अवस्थामा थिए आज पनि त्यही अवस्थामा छन् । कुरा फलाकेर मात्र जनता सुरक्षित र सुशासित कहाँ हुन सक्छन् र !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »