Translate:

December 9, 2024

ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिएण्टबाट हुने संक्रमण कसरी पत्ता लाग्छ ?

1 min read

कोरोना भाइरसको नयाँ भेरिएण्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिएण्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन् ।

कोरोना भाइरसको यो नयाँ प्रकार अहिले दर्जनौँ देशमा फैलिसकेको छ । तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागू वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन् ।

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ ?

सामान्यतया पिसिआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ । पिसिआर विधिले मानिसमा कोरोना भाइरस संक्रमण छ कि छैन भनेर हेर्छ ।

प्रयोगशालाअनुसार केहीले कोरोना भाइरसको निश्चित भेरिएण्ट – जस्तै, डेल्टा वा ओमिक्रोन – पनि किटान गर्न सक्छन् ।

  • ओमिक्रोन झन्डै ४० राष्ट्रमा फैलिएको छ,
  • नआत्तिन बरु सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनको सुझाव
  • भारतमा पनि फेला प¥यो कोरोना भाइरसको ओमिक्रोन भेरिएण्ट

कोरोना भाइरसको नयाँ भेरिएण्ट पहिचान गर्न आवश्यक प्रविधि कुनै कुनै प्रयोगशालामा मात्र उपलव्ध छ ।

संयुक्त राज्य अमेरिका विश्वमा पिसिआर परीक्षण गरिने देशहरुमध्ये अग्र–पंक्तिमा आउँछ । त्यसपछि बेलायत, रुस, जर्मनी, इटाली र दक्षिण कोरियामा धेरै मात्रामा पिसिआर परीक्षण हुन्छ ।

भारतको हकमा परीक्षणका लागि पठाइएका कुल नमूनाको एक प्रतिशत मात्र डेल्टा वा ओमिक्रोन जस्ता भेरिएण्ट किटान गर्न प्रयोग हुन्छ ।

ओमिक्रोन विश्वभरी फैलिएको कसरी थाहा हुन्छ ?

ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पिसिआर परीक्षणको स्वाब ‘जीन सिक्विन्सिङ’ भनिने पूर्ण आनुवांशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ ।

यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिएण्टबाट संक्रमित रहेको पुष्टि भएको छ । भाइरसको आनुवांशिक तत्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिएण्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्वपूर्ण हुन्छन् ।

यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै संक्रमणहरू पहिचान भएका छैनन् ।

  • कोभिडका कारण २४ घण्टामा ‘शून्य’ मृत्यु, ओमिक्रोन आउन नदिन के गर्दैछ नेपाल ?
  • के यात्रा प्रतिबन्धले कोभिड र ओमिक्रोनलाई रोक्न सक्छ ?

दक्षिण अफ्रिकामा पुष्टि भएका ओमिक्रोन संक्रमितमध्ये झन्डै ९० प्रतिशत मानिस एउटै प्रान्तका छन् । प्रारम्भिक रूपमा यो भेरिएण्ट युरोपमा फैलिएको हुनसक्छ । पोर्चुगल, नेदरल्यान्ड्स, र बेलायत प्रत्येक देशमा एक दर्जनभन्दा बढी संक्रमित फेला परेका छन् ।

यद्यपि यी संख्याले कुन देशमा ओमिक्रोन भेरिएण्टको संक्रमण बढी छ भनेर जनाउँदैनन् । बरु कुन कुन देशले छिट्टै यसको पहिचान गरे भन्ने सङ्केत गर्छन् ।

के आरडिटि विधिले ओमिक्रोन पत्ता लगाउँछ ?

घरमै गर्न सकिने आरडिटि विधिको परीक्षणले कुन भेरिएण्टको संक्रमण छ भन्ने किटान गर्दैन । तर संक्रमण छ वा छैन पहिल्याउन यो विधिलाई प्रभावकारी मानिन्छ ।

के हुन् ओमिक्रोनबाट संक्रमण हुँदाका लक्षणहरू ?

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट संक्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिएण्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिएण्टसँग सम्बन्धित लक्षण हुन सक्छन् ।

  • कोरोना भाइरसका नयाँ–नयाँ भेरिएण्टः के खोप अझै प्रभावकारी छन् ?
  • कोभिड खोप लगाउँदा के कारणले रगत जम्ने समस्या उत्पन्न हुन्छ भन्ने पत्ता लाग्यो ?

दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको छ । उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन् । दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्ति भर्ना भएका छन् । तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन् ।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बुस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिएण्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ ।

ओमिक्रोन र अन्य भेरिएण्टबीच कस्तो भिन्नता छ ?

ओमिक्रोन भेरिएण्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिएण्टमा भएका उत्परिवर्तनहरू देखिएका छन् । तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटिनमा छन् । अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटिनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो ।

विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस–जीन ड्रपआउट’ भनिने आनुवांशिक जानकारी भेटियो जसले यो भेरिएण्ट पत्ता लगाउन सहज हुने देखियो । तर सबै एस–जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन् । ओमिक्रोन निक्र्योल गर्न जीन सिक्विन्सिङ नै गर्नुपर्छ ।

जीन सिक्विन्सिङको भूमिका के हो ?

भाइरसको आनुवांशिक संरचना भेरिएण्ट पत्ता लगाउनका लागि जीन सिक्विन्सिङ महत्वपूर्ण छ । आनुवांशिक तत्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको संक्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिएण्टको संक्रमण छ भन्ने पहिल्याउन सक्छन् ।

यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारेमा मात्र जानकारी दिन्छ । तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ संक्रमणको कति अनुपात नयाँ भेरिएण्ट हुन सक्छ भन्ने आंकलन गर्छन् ।

  • दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि,
  • भेरिएण्ट पत्ता लगाउने जीन सिक्विन्सिङ के हो ?

बेलायत र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपंक्तिमा छन् । त्यसैले यी देशमा धेरै संक्रमितमा ओमिक्रोन पुष्टि भएको छ । तर यो नयाँ भेरिएण्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन ।

ओमिक्रोन बारे हामीलाई के थाहा छ ?

यस भेरिएण्टको व्यवहार वा लक्षण कस्तो हुने गर्छ र कति जोखिमपूर्ण छ भन्ने बारे निकै कम जानकारी छ । यो भेरिएण्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिएण्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएको भन्दा खोपको असर कम हुन्छ भन्ने बारे अन्योल कायम नै छ ।

झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ । त्यसैले देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भनेर अग्रिम सूचना वा प्रतिक्रिया दिन थालेका छन् ।

साभार ः फिलिपा रक्स्बी
बिबिसि नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »